नवौं राष्ट्रिय खेलकूदको आज समापन, प्रधानमन्त्री सहभागी हुने
गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता आज समापन हुँदै छ।
पोखरा, कात्तिक ३ : गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता आज समापन हुँदै छ।
आयोजक राष्ट्रिय खेलकूद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा भव्य कार्यक्रमसहित नवौँ राष्ट्रिय खेलकूदको बिदाइ गरिनेछ। समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्मन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतका विशिष्ट व्यक्ति सहभागी हुने जनाइएको छ।
यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकूदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए। प्रतियोगिता प्रचारप्रसार उपसमितिका सचिव खुसराज दाहालका अनुसार समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, कलाकारबाट गीत प्रस्तुत, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम गरिनेछ।
प्रतियोगितामा हालसम्म विभागीय त्रिभुवन आर्मी क्लब तीन सय १४ पदक जितेर शीर्ष स्थानमा छ। आर्मीले एक सय ५० स्वर्ण, ९४ रजत र ७० कास्य पदक जितेको छ।
यसैगरी नेपाल पुलिस क्लबले ५२ स्वर्ण, ४७ रजत र ५९ कास्यसहित एक सय ५८ पदकसहित द्वितीय र एपीएफले ४२ स्वर्ण, ५७ रजत र ७७ कास्यसहित एक सय ७६ पदक जितेको छ।
आयोजक गण्डकी प्रदेशले हालसम्म २९ स्वर्ण, २८ रजत र ४९ कास्यसहित एक सय ६ पदक जितेको छ। यसैगरी बागमती प्रदेशले २२ स्वर्ण, ४२ रजत र ५९ कास्यसहित एक सय २३ पदक, एनआरएनएले १० स्वर्ण आठ रजत र ६ कास्यसहित २४ पदक, प्रदेश १ ले नौ स्वर्ण, २२ रजत र ४४ कास्यसहित ७५ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण ६ रजत र ३३ कास्यसहित ४७ पदक र मधेस प्रदेशले पाँच स्वर्ण, आठ रजत र २१ कास्यसहित ५९ पदक जितेको छ।
यसैगरी लुम्बिनी प्रदेशले चार स्वर्ण, १८ रजत र ३७ कास्यसहित ५९ पदक जित्दा कर्णाली प्रदेश दुई स्वर्ण, तीन रजत र ११ कास्यसहित १६ पदक जितेर पदक तालिकाको पुछारमा छ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










