Kathmandu Press

‘संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गरौँ’

‘संविधानको रक्षाका निम्ति सत्ता गठबन्धनलाई मतदान गरौँ’

काठमाडाैं, कात्तिक २ : नेकपा (माओवादी केन्द्र) का नेताहरूले प्राप्त उपलब्धि संस्थागत गर्नका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् । माओवादी केन्द्र सम्र्पक समन्वय प्रदेश समितिले आज आयोजना गरेको ‘निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण’ कार्यक्रममा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक/समावेशीकरणलगायत संविधानको रक्षाका निम्ति गठबन्धलाई विजयी गराउन अपिल गरे।
    
आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको सत्ता गठबन्धन रहेको छ । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, 'अहिले देश माओवादीको एजेण्डामा छ, हामीले राजनीतिक व्यवस्था बदलेका छौँ तर जनताको अवस्था बदल्नु पर्नेछ, त्यसका निम्ति अबको चुनावमा जनताले सत्ता गठबन्धनलाई मतदान गर्नुपर्नेछ।' उनले आगामी निर्वाचनपछि शान्ति प्रक्रियाका बाँकी कार्यलाई सम्पन्न गर्दै जनताको शिक्षा, स्वास्थ्य र रोजगारीलगायत समस्या समाधान गर्दै आर्थिक, सामाजिक विकाससहित मुलुकलाई समाजवादको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
    
माओवादीका सचिव डिलाराम आचार्यले माओवादीका कारण प्राप्त उपलब्धि उपलब्धिलाई जनतासमक्ष पुर्‍याउँदै आगामी निर्वाचनमा केन्द्रित हुन आमकार्यकर्तालाई आग्रह गरे। माओवादीका स्थायी कमिटी सदस्य सत्या पहाडीले आर्थिक, सामाजिक रुपान्तरणसँगै समृद्धि र समाजवादका निम्ति पनि आगामी निर्वाचनमा सत्ता गठबन्धनलाई मतदान गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०:०० बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्