भक्तपुर-२ का उम्मेदवार थापालाई स्पष्टीकरण
थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक र गल्ली र पोलमा आफू उम्मेदवार रहेको नेपाली कांग्रेस दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको र सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको हो।
काठमाडाैं, कात्तिक २ : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्यका भक्तपुर क्षेत्र नं २ का उम्मेदवार दुर्लभ थापालाई स्पष्टीकरण सोधेको छ।
थापाले सूर्यविनायक नगरपालिका वडा नं. २, ३, ४ र ६ का चोक र गल्ली र पोलमा आफू उम्मेदवार रहेको नेपाली कांग्रेस दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको र सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत हुने भएकाले स्पष्टीकरण सोधिएको हो। थापालाई निर्वाचन आयोगमा वा उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालमा आफै वा आफ्नो प्रतिनिधिमार्फत २४ घन्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ बमोजिम जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ज) मा ‘कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिकस्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने’ व्यवस्था रहेको स्मरण गराउँदै त्यसरी विभिन्न स्थानको बाटो तथा पोलमा दलको झण्डा राखेको देखिएको हुँदा आचारसंहिता विपरीत हुने गरी उक्त कार्य किन गरिएको हो रु भनी सोधिएको छ।
'तपाईं नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्ष तथा भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहनुभएको हुँदा निर्वाचन आचारसंहिताको पालना गर्ने गराउने जिम्मेवारी तपाईंको हो, होइन?' स्पष्टीकणमा भनिएको छ, 'यदि जिल्ला कार्यसमिति भक्तपुरबाट निर्वाचन आचारसंहिता विपरीत कार्य भएको हो भने तपाईंलाई किन निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३ र उपदफा ४ बमोजिमको कारबाही हुनु नपर्ने हो?'
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










