नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक चार घन्टा बन्द
चितवन, मंसिर २७ : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो चार घन्टा बन्द हुनेभएको छ।
पहिरो रोक्ने गरि निर्माणको काम गर्न द....
चितवन, मंसिर २७ : नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो चार घन्टा बन्द हुनेभएको छ।
पहिरो रोक्ने गरि निर्माणको काम गर्न दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो। जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो।
सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताए। ‘पहिरो झर्ने विभिन्न आठ स्थानमा काम गर्नुपर्ने भएकाले हामीले सूचना प्रकाशित गरेर सडक बन्द गरेका छौं,’ उनले भने।
ढुङ्गा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको सूचना अधिकारी खनालले बताए। १२ करोड रुपैयाँको लागतमा ठेक्का भएको काम ६ महिनाभित्र सक्ने योजना छ। पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको उनले बताए।
नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आह्वान गरेको छ। नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिनेछन्।
त्यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिनेछन्। एम्बुलेन्स, शववाहनलगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ।






