Kathmandu Press

यातायात प्राधिकरण बनाउन प्रधानमन्त्रीसँग व्यवसायीको माग

यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गरेका छन्।
यातायात प्राधिकरण बनाउन प्रधानमन्त्रीसँग व्यवसायीको माग

काठमाडौं, कात्तिक २: यातायात व्यवसायीहरूले अधिकारसम्पन्न यातायात प्राधिकरण गठन गर्न माग गरेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा यातायात व्यवसायीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालको यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरेका हुन्।

नेपालका न्यून तथा मध्यम वर्गीय व्यवसायीको रु १० खर्बभन्दा बढी लगानीलाई सुरक्षित गर्न र यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, आधुनिक र यात्रुमैत्री बनाएर सञ्चालन गर्नका लागि अधिकार सम्पन्न यातायात प्राधिकरण निर्माण गर्न माग गरिएको महासङ्घका महासचिव डेकनाथ गौतमले बताए।

‘न्यून तथा मध्यम वर्गीय व्यवसायीको पूँजीलाई व्यवस्थित गर्दै यातायात क्षेत्रमा रोजगारी बढाउनका लागि अधिकार सम्पन्न प्राधिकरण निर्माणको माग गरेका हौँ’, उनले भने।

यस्तै व्यवसायीले सवारीसाधनका लागि यसअघि लगाउँदै आएको २० वर्षे अवधि हटाएर सवारीको इञ्जिनको क्षमताका आधारमा सञ्चालन गर्न दिनसमेत माग गरेका छन्।

हाल देशभर चार लाखभन्दा बढी सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएको र उक्त सवारीसाधनमा प्रत्यक्ष ११ लाख र अप्रत्यक्ष रुपमा करिब ४० लाख जनतालाई रोजगारी सिर्जना गरेको महासङ्घले जनाएको छ।

व्यवसायीले मंगलबार नै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत उक्त माग राखेर ज्ञापन पत्र बुझाएका थिए। (रासस)

प्रकाशित मिति: ०६:४३ बजे, बुधबार, कात्तिक २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्