ब्रिटेन आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने प्रक्षेपण
एजेन्सी, मंसिर २७ : ब्रिटेनमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने संकेत देखिएको छ । बीबीसी, आईटभी र स्काइ न्यूजका लागि गरिएका एक्जिट ....
एजेन्सी, मंसिर २७ : ब्रिटेनमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने संकेत देखिएको छ । बीबीसी, आईटभी र स्काइ न्यूजका लागि गरिएका एक्जिट पोल (मत सर्वेक्षण)मा यस्तो सम्भावना देखिएको हो ।
मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भेटिभले ३६८ स्थानमा जित्ने देखाएको छ। जुन यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा ५० स्थान धेरै हो । यूरोपेली सङ्घ (ईयू) बाट ब्रिटेन बाहिरिने विषय यो निर्वाचनको एक प्रमुख मुद्दा बनेको छ। सर्वेक्षण अनुसार लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने देखाएका छन् ।
उक्त सर्वेक्षणले ब्रेक्जिट पार्टीले कुनै सिट नजित्ने र ग्रिन पार्टीले एक सिट जित्न सक्ने देखाएको छ। सर्वेक्षणहरूका अनुसार कन्जर्भेटिभ पार्टीले सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हासिल गर्ने देखिएको छ। यदि त्यसो भएमा त्यो लेबरहरूका लागि सन् १९३५ यताकै सबैभन्दा कमजोर पराजय हुनेछ।
लेबरहरूले यस चुनावमा ७१ सिट गुमाउने देखिएको छ। पछिल्ला वर्षमा एक्जिट पोलका नतिजाहरू निकै मिलेका पाइएका छन् । सन् २०१७ मा त्यसले चुनावमा कसैले पूर्ण बहुमत ल्याउन नसक्ने प्रक्षेपण गरेको थियो । अन्तिम नतिजाका लागि भने शुक्रवार मध्यान्हसम्म कुर्नुपर्नेछ। (बीबीसी)






