संविधानको रक्षा र समृद्धिका लागि गठबन्धनको पक्षमा मतदान गर्न शीर्ष नेताहरुको अपिल
गठबन्धनका शीर्ष नेताहरुले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायम रहने बताएका छन् ।
काठमाडौं, कात्तिक १ : सत्ता गठबन्धनका शीर्ष नेताहरुले ४ मंसिरको निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।
गठबन्धनका तर्फबाट मंगलबार सार्वजनिक गरिएको प्रतिवद्धतापत्रमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरिएको छ ।
पत्रमार्फत निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्ने र जनताको समृद्धिको आकाँक्षालाई बिना आलटाल र ढिलासुस्ती सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
गठबन्धनका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जिवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायम रहने बताएका छन् ।
निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाकोे सुनिश्चितता गर्दै उत्पादन वृद्धि र मुलुकभित्रै रोजगारीका पर्याप्त अवसरहरुको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणकोे राष्ट्रिय कार्यभारलाई गठबन्धन दलले उच्च प्राथमिकता दिने पनि पत्रमा उल्लेख छ।


![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










