एमाले, राप्रपा र जसपाको गठबन्धन प्रतिगमनकारी हो : प्रचण्ड
‘राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्त्वहरू, प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएको छ ।’
काठमाडाैं, कात्तिक १ : आसन्न निर्वाचनका लागि एमाले, राप्रपा र जसपाले गरेको गठबन्धन प्रतिगमनकारी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन्।
मंगलबार आयोजित सत्ता गठबन्धनको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ठले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाए।
विपक्षीहरुले आफूहरुमो त गठबन्धन होइन, तालमेल मात्रै हो भनेर भने पनि त्यो गठबन्धन नै भएको प्रचण्डले बताए। उनले भने, ‘राजावादीहरू, अलगाववादीहरू, देशलाई विखण्डन गर्न चाहने तत्त्वहरू, प्रतिगमनकारीहरूको गठबन्धन प्रष्ट देखिएको छ ।’
अध्यक्ष प्रचण्ड सत्ता गठबन्धन संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा, समानुपातिक, समावेशी मान्यता सहित संघीयताको रक्षा गर्ने क्लियर उद्देश्यसहित बनौको बताए । उनले सत्ता गठबन्धन सरकार बनाउनको लागि र सत्ता प्राप्तिका लागि मात्रै नभएको बताए।
मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति र कसरत चलिरहेकाले निर्वाचन पछि पनि गठबन्धन आवश्यक पर्ने दाहालको भनाई थियो ।
प्रचण्ड मंसिर ४ मा हुन लागेको् निर्वाचन सामान्य निर्वाचन नभएको बताएका छन्। ‘यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने कुरा हो,’ उनले भने ।
अध्यक्ष प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धन परिवर्तनको पक्षमा तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि खडा भएको र अर्को गठबन्धन जनविरोधी र प्रतिगमनका पक्षधर रहेको आरोप लगाए।
प्रचण्डले आफूहरुले ब्यालेटबाट अग्रगमन र प्रतिगमनको ब्याटल लिडरहेको बताए । उनले भने, ‘हामी ब्यालेटबाट अग्रगमन र प्रतिगमनको ब्याटल लड्दैछौं । त्यसकारण यसलाई सामान्य नसोचियोस् भन्ने अपील गर्न चाहन्छु । यो राष्ट्रको एकता, लोकतन्त्रको परिवर्तनको रक्षासँग सम्बन्धित मुद्दा छ । हामी विजयी हुने कि प्रतिक्रान्तिकारी विजयी हुने भन्ने फैसला मंसिर ४ गते हुन्छ ।’
प्रचण्डले सत्तारुढ गठबन्धनमा रहेका दलका नेता तथा कार्यकर्ताले कुनै दुविधा नराखी एक अर्काको निर्वाचन चिन्हमा मतदान गर्न आग्रह गरे।
‘कांग्रेस र कम्युनिस्ट नमिलेको भए पञ्चायती निरंकुशता ढल्ने थिएन । हामीले देखे भोगेको र सहभागी भएकै हो’, प्रचण्डले भने, ‘कांग्रेस र कम्युनिस्ट मिलेर नै विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि औपचारिक प्रक्रिया सुरु भएको हो । यो सामूहिक निर्णयका रुपमा आएको हो । जुन दिन शान्ति सम्झौतामा हस्ताक्षर गरियो त्यही दिन, रुख र हसिया हथौडामा एक अर्काले छाप लगाएको हो ।’
तत्कालीन सात राजनीतिक दल र माओवादी एक आपसमा नमिलेको भए देश संघीय लोकतान्त्रिक गणतन्त्रमा नजाने प्रचण्डको भनाई थियो। उनले निरंकुशतालाई पराजित गर्ने उद्देश्यका साथ गठन भएको गठबन्धनले स्थानीय तहको निर्वाचनमा चोटिलो प्रहार गरेको तथ्य स्मरण गराए। उनले कुनै पनि हिन भावना नराखी एक अर्का दलले गठबन्धनका उम्मेदवारलाई खुसी भएर मतदान गर्न आग्रह गरे।
आफू राष्ट्रको पक्षमा दह्रोरुपमा उभिएर संविधान जारी गर्न सफल भएको बताउँदै उनले यसपटकको निर्वाचनलाई पनि पूर्णरुपमा सफल बनाउन र एकढिक्का भएर जनतालाई विजयी गराउनुपर्ने बताए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










