आत्तिनु पर्दैन्, नेपाल कम्युनिष्ट मुलुक बन्न सक्दैन् : नेत्री कोइराला
काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपाल कम्युनिष्ट मुलुक बन्न नसक्न....

काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपाल कम्युनिष्ट मुलुक बन्न नसक्ने जिकीर गरकी छन् ।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन, सिन्धुपाल्चोकले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा नेपाली संस्कार र संस्कृति नै प्रजातान्त्रिक भएकाले मुलुक कम्युनिष्ट बन्छ भनेर आत्तिरहनु पर्ने अवस्था नरहेको बताईन् । विश्वभर प्रजातन्त्र कमजोर बनिरहेका बेला नेपालमा प्रजातान्त्रिक ब्यवस्था बलियो बनाउन नेपाली कांग्रेसले भूमिका निर्वाह गर्नुपर्ने नेतृ कोइरालाको सुझाव थियो ।
‘नेपाली जनता प्रजातन्त्रसँग रमाउन चाहन्छन त्यसैले सहमति, सहकार्य र एकताका आधारमा कांग्रेसले सबै विचार र सिद्धात बोकेका दल र व्यक्तिहरुलाई साथ लिएर हिड्नुपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘प्रजातान्त्रिक विधि र पद्धती बुझेका जनतालाई जबरजस्त कम्युनिष्ट भनिरहनु जरुरी छैन ।’ कार्यक्रममा प्राध्यापक तथा विश्लेषक डा।जयराज आचार्यले गिरिजाप्रसाद कोइरालाको जस्तो विचार र सांगठनिक भूमिका आजको कांग्रेसलाई आवश्यक रहेको बताए ।
अर्का विश्लेषक उमेश भट्टराईले संघीयता र गणतन्त्र कार्यान्वयन नभए बृहत शान्ति सम्झौतालाई असर गर्ने भएकाले मुलुकमा शान्ति, मानवअधिकार, लोकतन्त्र र विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति विकास लामा, गिरिजाप्रसाद कोइराला फाउन्डेसन, प्रदेश नम्बर ३ कि संयोजक रिता खनाल, अभियन्ता आङछिरिङ शेर्पालगायतले गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिकालाई सम्मान गर्दै सहमति, सहकार्य र एकताका आधारमा मुलुक अघि बढ्नुपर्ने बताए । कार्यक्रम फाउन्डेसनका सिन्धुपाल्चोक सभापति थइन्द्र रिजालको सभापतित्वमा सम्पन्न भएको थियो ।











