Kathmandu Press

अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवाले भने– हँसिया हथौडामा भोट हालेकै हो, पाए अझै हाल्छु

‘अहिले गठबन्धन राम्रोसँग चलेको छ । मैले पनि अस्ति हँसिया हथौडामा भोट हालेकै हो । पाए आजै पनि हाल्थेँ।’
अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवाले भने– हँसिया हथौडामा भोट हालेकै हो, पाए अझै हाल्छु

काठमाडौं, कात्तिक १ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनलाई जिताउन आग्रह गरेका छन्। सत्ता गठबन्धनले ललितपुरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई मतदान गरी संविधानको रक्षा र आर्थिक समृद्धिका लागि आग्रह गरे।

प्रधानमन्त्री देउवाले गठबन्धनलाई स्थायी लोकतन्त्र, शान्ति र विकासका लागि मतदान गर्न आग्रह गरे । गठबन्धनको सरकार बनेपछि मुलुकको आर्थिक अवस्थामा समेत सुधार हुँदै आएको उनको दाबी छ ।

अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको बताउँदै चुनावपछि पनि गठबन्धनकै सरकार बस्ने देउवाले बताए।  बताए । ‘अहिले गठबन्धन राम्रोसँग चलेको छ । मैले पनि अस्ति हँसिया हथौडामा भोट हालेकै हो । पाए आजै पनि हाल्थेँ,’ उनले भने।

प्रधानमन्त्री देउवाले केपी ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको उल्लेख गरे। उनले ओलीले आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको पनि बताए ।

‘जनताले चुनेको संसद्लाई मनपरी गरेर भंग गर्न मिल्दैन । यो–यो अवस्थामा बाहेक संसद् भंग गर्न पाइँदैन भन्ने व्यवस्था हामीले गरेका थियौं,’ उनले भने, ‘राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नेहरु छन् । त्यही काम बिहान ६(७ गरेको भए पनि हुन्थ्यो । लहडमा भंग गरिदिनुभयो । लहडमा त उहाँले के गर्नुहुन्छु, के गर्नुहुन्न के थाह ?’

प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई माँस्ने प्रयास गरेको बताए । अहिलेको संविधान राम्रो उल्लेख गर्दै उनले यो संविधान बचाएर सबैले मिलेर देशको विकास गर्नुको विकल्प नभएको उल्लेख गरे।

 

प्रकाशित मिति: १५:५२ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्