Kathmandu Press

राष्ट्रिय खेलकुदको पाँचौं दिन : एथ्लेटिक्समा बिन्द्रा, जयरानी, अनिश, रमिता र सोमलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन एथ्लेटिकसमा एपिएफकी बिन्द्रा श्रेष्ठ र रमिता थारु, आर्मीका सोमबहादुर कुमाल र जयरानी थारु र गण्डकीका अनिश थापामगरले स्वर्ण पदक जितेका छन्।
राष्ट्रिय खेलकुदको पाँचौं दिन : एथ्लेटिक्समा बिन्द्रा, जयरानी, अनिश, रमिता र सोमलाई स्वर्ण

कास्की, कात्तिक १ : नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन एथ्लेटिकसमा एपिएफकी बिन्द्रा श्रेष्ठ र रमिता थारु, आर्मीका सोमबहादुर कुमाल र जयरानी थारु र गण्डकीका अनिश थापामगरले स्वर्ण पदक जितेका छन्।

पोखरामा मंगलबार भएको महिला म्याराथनमा एपीएफ क्लबकी विन्द्रा श्रेष्ठले स्वर्ण जितिन्। उनले निर्धारित दुरी २ घण्टा ५७ मिनेट २३ सेकेन्डमा पुरा गरिन्। उनी म्याराथनमा पहिलो पटक प्रतिस्पर्धा गरिरहेकी थिइन्।

आर्मीकी विश्वरुपा बुढाले ३ घण्टा ००.३५ सेकेन्डमा दूरी पुरा गर्दै रजतमा चित्त बुझाउँदा पुलिस क्लबकी रेखा बिष्टले ३ घण्टा ०१.३५ सेकेन्ड समय निकाल्दै कास्य जितिन् ।

त्यस्तै पुरुषतर्फ गण्डकीका धावक अनिश थापामगरले म्याराथनमा स्वर्ण जितेका छन् । पहिलोपल्ट  राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने क्रममा २ घन्टा २२ मिनेट ५४ सेकेन्डको टाइमिङ लिएका थिए । आर्मीका धावक कृष्ण बस्नेत र एपीएफका सन्तोषविक्रम विष्टले रजत र कांस्य पदक जिते ।

त्यस्तै आर्मीका सोमबहादुर कुमाल र एपीएफकी रमिता थारुले नवौं राष्ट्रिय खेलकुदमा ४०० मिटर दौडमा स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ सोमबहादुरले ४७.९५ सेकेन्डबाट दूरी पार गर्दै स्वर्ण जिते । उनले यसअघि ४८.२ सेकेन्डको आफ्नै नामको ह्यान्ड टाइमको राष्ट्रिय कीर्तिमानमा सुधारेका छन् ।  एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत जित्दा आर्मीका प्रकास दनुवारले ४९.९० सेकेन्डको समय निकाल्दै कास्य हात पारे ।

महिलातर्फ रमिताले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्ने क्रममा निर्धारित दुरी ५८.१० सेकेन्डमा पूरा गरिन् । रमिताले तुलसा खत्रीको नाममा रहेको ५९.५८ सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडेका हुन् ।

महिलातर्फ आर्मीकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेन्डमा पूरा गर्दै रजत जितिन् ।  कास्य जितेकी एपीएफकी कल्पना श्रेष्ठले १.००.७० सेकेन्डमा दौड पूरा गरिन् ।

त्यस्तै महिला लङजम्पमा आर्मीकी जयरानी थारुले अर्को राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। महिला लङजम्पमा थारुले ५ दशमलव ५८ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्। लुम्बिनीकी निशा चौधरीले पाँच दशमलव ४९ मिटर जम्प गर्दै रजत पदक प्राप्त गरिन्। एपिएफ क्लबकी शिला चौधरीले ५ दशमलव ३१ मिटर जम्प गर्दै कास्य पदक प्राप्त गरिन्।

पुरुष लङजम्पमा सलिम देवानले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन्। देवानले २३ वर्ष पुरानो कीर्तिमान भंङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन्। पुलिसका देवानले ७.०६ मिटर जम्प गर्दै स्वर्ण हात पारेका थिए ।  आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत जित्दा गण्डकीका नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दे काश्य हात पारेका छन्।

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्