Kathmandu Press

नवौँ राष्ट्रिय खेलकुद : पदक तालिकामा विभागीय टिमकाे दबदबा, कमजाेर प्रदेशका टिम

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा विभागीय टिमले दबदबा कायम गरेका छन्। १३९ स्वर्णको टुंगो लाग्दा ९९ स्वर्ण विभागीय टिमले जितेका छन्।
नवौँ राष्ट्रिय खेलकुद : पदक तालिकामा विभागीय टिमकाे दबदबा, कमजाेर प्रदेशका टिम

पोखरा, कात्तिक १ : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पदक तालिकामा विभागीय टिमले दबदबा कायम गरेका छन्। १३९ स्वर्णको टुंगो लाग्दा ९९ स्वर्ण विभागीय टिमले जितेका छन्।

विभागीय टिम त्रिभुवन आर्मी  शीर्ष स्थानमा छ। उसले ६१ स्वर्ण आफ्नो पोल्टामा पारेको छ। आर्मीले ३९ रजत र २८ कास्यसहित कुल एक सय २८ पदक प्राप्त गरेको छ। 

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब पदक तालिकाको तेस्रो स्थानमा छन् । एपिएफ क्लबले २३ स्वर्ण, १७ रजत र १५ कास्यका साथ कुल ६५ पदक प्राप्त गरेको छ । पुलिस क्लबले १५ स्वर्ण, २५ रजत र ३३ कास्यसहित कुल ७४ पदक प्राप्त गरेको छ। 

यसैगरी बागमती, गण्डकी र एनआरएनए क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । बागमती प्रदेशले १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक प्राप्त गरेको छ । गण्डकी प्रदेशले १० स्वर्ण, आठ रजत र २० कास्यसहित कुल ३८ पदक प्राप्त गरेको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले छ स्वर्ण, छ रजत र चार कास्यसहित कुल १६ पदक हासिल गरेको छ। 

यस्तै प्रदेश नं १ सातौँ, मधेश प्रदेश आठौँ, सुदूरपश्चिम प्रदेश नवौँ, लुम्बिनी प्रदेश १०औँ तथा कर्णाली प्रदेश पदक तालिकाको ११औँ स्थानमा छन् । प्रदेश १ ले हालसम्म तीन स्वर्ण, आठ रजत र २१ कास्यसहित कुल ३२ पदक पाएको छ ।

मधेशले दुई स्वर्ण, तीन रजत र सात कास्यसहित कुल १२ पदक, सुदूरपश्चिमले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित कुल १४, लुम्बिनीले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल २२ तथा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित कुल चार पदक प्राप्त गरेको छ।

हालसम्म एक सय ३९ स्वर्ण, एक सय ३९ रजत र एक सय ८६ कास्यसहित कुल चार सय ६४ पदकको छिनोफानो भएको छ । छ हजार एक सय ५७ खेलाडी सहभागी नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशका आठ जिल्लामा भइरहेको छ। 

कुल तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितामा दुई प्रदर्शनीसहित ३८ खेल समावेश गरिएका छन् । तीन विभागीय, सात प्रदेश र एनआरएनएका खेलाडीबीच खेल भइरहेको छ । पोखरामा यसअघि २०४० सालमा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो।  

प्रकाशित मिति: १०:२८ बजे, मंगलबार, कात्तिक १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्