Kathmandu Press

तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ।
तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

काठमाडाैं, असाेज ३१ : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडाँै जिल्लामा मतपत्र ढुवानी भएको छ। 

प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ। प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन्। 

ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही र सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ। 

समानुपातिकतर्फ महिलाको सङ्ख्या ५५ प्रतिशत

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको सङ्ख्या ५५ प्रतिशत बढिरहेको देखिएको छ। प्रतिनिसभातर्फ समानुपातिक उम्मेदवारको कूल सङ्ख्या दुई हजार चार सय दुई छ।

यसमा महिला उम्मेदवारको सङ्ख्या एक हजार तीन सय १३ छ, भने पुरुष उम्मेदवारको सङ्ख्या एक हजार ८९ छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशसभातर्फ महिला समानुपातिक उम्मेदवारको सङ्ख्या दुई हजार चार सय २६ छ। 

प्रदेशसभाको समानुपातिकतर्फ पुरुष उम्मेदवारको सङ्ख्या एक हजार छ सय २९ छ। प्रदेशसभाको समानुपातिकतर्फ कूल चार हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ।

\प्रदेश १ मा चार सय छ महिला र दुई सय ५५ पुरुष, मधेसमा पाँच सय ७० महिला र तीन सय ७७ पुरुष, बागमतीमा चार सय ७१ महिला र तीन सय ५४ पुरुष, गण्डकीमा दुई सय २१ महिला र एक सय ४५ पुरुष, लुम्बिनीमा चार सय तीन महिला र दुई सय ५४ पुरुष, कर्णालीमा एक सय ३१ महिला र ९१ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा दुई सय २४ महिला र एक सय ५३ पुरुष उम्मेदवार रहेका आयोगले जनाएको छ। 

आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। सो निर्वाचनमा ९१ लाख ४० हजार आठ सय छ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मतदान गर्दैछन्। देशभर १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र रहनेछन्।

प्रकाशित मिति: १५:५७ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्