कात्तिक १८ अघि चुनावी सभा गर्न नपाउने निर्वाचन आयोगकाे भनाइ
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ देखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताएका हुन्।
काठमाडौं, असोज ३१ : निर्वाचन आयोगले कात्तिक १८ अघि राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारका लागि कोणसभा र आमसभा गर्न नपाउने जानकारी गराएको छ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनाव हुनुभन्दा १७ दिन अगाडिदेखि मात्रै कोणसभा र आमसभा गर्न पाउने व्यवस्थाअनुसार कात्तिक १८ देखि मात्रै कोणसभा र आमसभा गर्न पाउने बताएका हुन्।
त्यसअघि कोणसभा र आमसभा गरे चुनावको आचारसंहिता उल्लंघन हुने र त्यस्ता उम्मेदवारको मनोनयन खारेजसम्म गर्ने चेतावनी उनले दिएका छन्।
उनका अनुसार निर्वाचन आचारसंहितामा मतदानको १७ दिनअघि मात्रै दल तथा उम्मेदवारले कोणसभा, आमसभा, सेमिनार, गोष्ठी गर्न पाउने व्यवस्था राखिएको हो र त्यसका लागि राजनीतिक दलहरूको समर्थन रहेको छ।
‘अहिले कोणसभा, आमसभा, गोष्ठी, सेमिनारलगायत कुनै पनि विषयमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन, दलका प्रतिनिधिको सहमतिमा समेत बनेको आचारसंहिताले चुनाव हुने दिनभन्दा १७ दिन अघि भनेकोले कात्तिक १८ गतेदेखि मात्रै चुनाव प्रचारप्रसार गर्न पाइन्छ,’ उनले भने, ‘त्योभन्दा अगाडि चुनाव प्रचारप्रसार गर्नेलगायत क्रियाकलाप गर्न पाइँदैन।’
घरदैलोमा जाँदा बढीमा २५ जनासम्मको समूहमा मात्र जान सकिने पनि उनले बताए। घरदैलोमा जाँदा बाजागाजा बजाउने तथा भोजभतेर गर्न नपाइने जानकारी पनि उनले दिए।
घरदैलोको क्रममा पनि राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी उजुरी आइरहेको पनि उनको भनाइ छ। उजुरीमाथि छानबिन भइरहेको पनि उनले बताए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










