एथलेटिक्स ३ हजार मिटर स्टिपलचेसमा दुर्गा बुढाकाे जितसँगै कर्णालीलाई पहिलो स्वर्ण
पोखरा रंगशालामा सोमबार भएको खेलमा दुर्गाले जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलो हो। बुढाले ८ मिनेट ५५.९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन्।
काठमाडाैं, असाेज ३१ : कास्की नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ३ हजार मिटर स्टिपलचेसमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन्।
पोखरा रंगशालामा सोमबार भएको खेलमा दुर्गाले जितेको स्वर्ण नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशको पहिलो हो। बुढाले ८ मिनेट ५५.९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन्।
एपीएफका अजित यादवले ९ मिनेट २१.१० सेकेन्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेण्डसहित कांस्य जिते।
त्यस्तै एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन्। जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। फाइनल चरणमा भने उनले निर्धारित दुरी १५.६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन्।
यसअघि उनकै नाममा १५.२० सेकेन्डको कीर्तिमान थियो। यस स्पर्धामा आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत जितिन्। एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डको समय निकाल्दै कास्य हात पारिन । त्यस्तै हर्डल्स ११० मिटर पुरुषतर्फ आर्मीकै जीवन चौधरीले स्वर्ण पदक जितेका छन्।
जीवनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत र आर्मीका रामप्रसाद थारुले १६.०० सेकेन्डसहित कांस्य जिते।
त्यस्तै एथलेटिक्सको डिस्कस थ्रोमा त्रिभुवन आर्मीका चित्रबहादुर वली र लुम्बिनी प्रदेशकी संगिता अधिकारीले स्वर्ण पदक जितेका छन्। वलीले ३८.४८ मिटर थ्रो गरेर स्वर्ण जितेका हुन्। ३२.७५ मिटर थ्रो गरेका नेपाल पुलिस क्लबका पुस्कल खड्काले रजत र ३१.१० मिटर थ्रो गरेका सुदूरपश्चिमका हेमन्त पालले कांस्य पदक जिते।
महिलातर्फ लुम्बिनी प्रदेशकी संगिता अधिकारीले ३५.१० मिटर थ्रो गरेर स्वर्ण जितेकी छन्। संगीताले जितेको स्वर्ण लुम्बिनी प्रदेशको पहिलो स्वर्ण हो। एपीएफकी जितकुमारी महतोले ३३.६० मिटर थ्रो गर्दै रजत र त्रिभुवन आर्मीकी मिलन बुढा मगरले ३२.३५ मिटर थ्रो गर्दै कांस्य पदक जिते।











