आइटिएफ स्पाइरिङमा गण्डकीलाई स्वर्ण
आज भएको ४०–५० तौल सूमहको खेलमा कर्णाली प्रदेशका मिलन धामीलाई पराजित गर्दे गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्णपदक जिते।
कास्की, असाेज ३० : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दाको स्पाइरिङतर्फ पहिलो स्वर्ण गण्डकी प्रदेशले हात पारेको छ।
आज भएको ४०–५० तौल सूमहको खेलमा कर्णाली प्रदेशका मिलन धामीलाई पराजित गर्दे गण्डकीका खगेन्द्र घर्तीमगरले स्वर्णपदक जिते।
कर्णालीकै धामीले रजत पदक पाए। नेपाल आर्मीका पूर्णबहादुर मगर र लुम्बिनी प्रदेशका सन्तोष बुढामगरले कास्यपदकमा चित्त बुझाए।
प्रतियोगिताका मिडिया संयोजक पुकार केसीका अनुसार योसँगै गण्डकी प्रदेशले जारी प्रतियोगितमा दुई स्वर्ण हासिल गरेको छ। यसअघि शनिबार भएको स्पर्धामा ‘रेड बेल्ट’तर्फ एकल प्याटर्नमा गण्डकीका भीम गाहाले स्वर्णपदक जितेका थिए।
अहिलेसम्म भएका एकल प्याटर्न, टिम प्याटर्न र स्पाइरिङतर्फका खेलमा विभागीय टिम नेपाल आर्मीले सबैभन्दा बढी आठ स्वर्ण जितेर प्रतियोगितमा आफ्नो वर्चश्व बनाएको छ। तीन स्वर्णसहित बागमती प्रदेश दोस्रो स्थानमा छ।
आइटिएफ नेपालका महासचिव अञ्जु रावतले आज विभिन्न तौल समूहमा स्पाइरिङतर्फका खेल भइरहेको जानकारी दिए। पुरुष टिम प्याटर्नमा स्वर्ण जित्ने नेपाली आर्मी र महिला टिम प्याटर्नमा स्वर्ण जित्ने बागमती प्रदेशका खेलाडीलाई आजै पदक वितरण गरिएको उनको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, श्रीमेहर गणका गणपति देवभक्त माणी श्रेष्ठ र बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विजेता खेलाडीलाई पदक र नगर पुरस्कार प्रदान गरेका थिए।
बुधबारसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका दुई सय ५० खेलाडी सहभागी छन्। आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्यपदकका लागि खेलाडी स्पर्धामा छन्। स्थानीय बाङ्गेचौर खेलमैदानमा प्रतियोगिता चलिरहेको छ।











