Kathmandu Press

कीर्तिमानी स्वर्ण जितेपछि जयरानी भन्छिन्– देशलाई अन्तराष्ट्रिय पदक दिलाउने लक्ष्य छ

‘स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ।’
कीर्तिमानी स्वर्ण जितेपछि जयरानी भन्छिन्– देशलाई अन्तराष्ट्रिय पदक दिलाउने लक्ष्य छ

कास्की, असोज ३१ : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन्। 

नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पार्नुभएन तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन् ।

थारुले गएको असारमा काठमाडौँमा सम्पन्न ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भइन्। 

जयरानी नवौँको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताउँछिन्।   ‘कीर्तिमान सुधार गर्दा धेरै  खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ।’

राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहेका आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाइन् ।

आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन्। ‘बुबा घरमा हुनुहुँदो रैनछ आमालाई फोनमा स्वर्ण जितेँभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौँ भनेर हौसला दिनुभयो,’ उनले भनिन्।

rani_tharu_(1)1665985640.jpg

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ । उनले भनिन्, ‘स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ।’

जयरानीले विसं २०७२ देखि खेल्न थालेकी हुन्। त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलिन् । सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितिन्। 

आठौँ राष्ट्रिय खेलकुदमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्धितीय भएकी जयरानीले नवौँमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर उनलाई मिल्यो । उनी विसं २०७६ साउनमा सेनामा भर्ना भइन्। आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारुको धेरैनै साथ र सहयोग मिलेको जयरानीले बताइन्। 

सामान्य कृषक परिवारका जयरानीलाई आमाले घरको काम गर्नुपर्दछ भन्ने गरे पनि बुबाले खेलमै लाग्न प्रेरित गर्ने गरेको सुनाइन् । उनले विगतलाई स्मरण गर्दै भनिन्, ‘सानोमा आमाले घरको काम कसले गर्छ घरको काममा सहयोग गर्नुपर्दछ भन्नुहुन्यो, बाबा चाँही खेल खेल्नुपर्दछ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहनभयो, बुबा कृषक भए पनि खेलकुदलाई मन पराउनुहुन्थ्यो।’ 

सुरुवातमा उनलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि विद्यालयमै निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो ।

जयरानीले गुरुआमा मान्ने सुमित्रा चौधरी जो बर्दियाकै हुनुहुन्छ र अहिले एथलेटिक्स प्रशिक्षकसमेत हुनुहुन्छ उनले विद्यालयमा होस्टलमा बस्नेदेखि खेलकुदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको थारुले सुनाइन् ।
 
उनले भनिन्, ‘मलाई खेलमा पाइला टेकाउने सुमित्रा चौधरी गुरुआमाले हो । उहाँको साथ, सहयोग मलाई जहिले पनि मिलिरहेको छ।’ 

प्रकाशित मिति: १०:४६ बजे, सोमबार, असोज ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्