एल क्लासिकोमा रियलको जित
यो जितपछि रियलले ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ भने बार्सिलोना सिजनको पहिलो हार आत्मसात गर्न बाध्य रह्यो।
काठमाडाैं, असाेज ३१ : सिजनको पहिलो ‘एल क्लासिको’ रियल म्याड्रिड विजयी भएको छ। आइतबा राति बर्नाबेउमा भएको खेलमा रियलले बार्सिलोनामाथि ३–१को जित निकाल्यो।
यो दुई पुराना प्रतिद्वन्द्वी टिमबीचको २ सय ५० औं ‘एल क्लासिको’ हो।
यो जितपछि रियलले ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ भने बार्सिलोना सिजनको पहिलो हार आत्मसात गर्न बाध्य रह्यो। लिगमा अपराजित रियल २५ अंकसहित शीर्ष स्थानमा रहँदा बार्सिलोना २२ अंकसहित दोस्रो स्थानमा छ।
रियलको जितमा करिम बेन्जिमा, फेडेरिको भाल्भर्डे र रोड्रिगोले गोल गर्दा बार्सिलोनाका फेरान टोरेसले गोल गरे।
खेलमा १२ औं मिनेटमा बेन्जिमाको गोलमा रियलले अग्रता लियो। काउन्टरमा भिनिसियस जुनियरले चिप गरेको बल गोलकिपर आन्द्रे टेरस्टेनर रोकेपछिको रिबाउन्डमा बेन्जिमाले गोल गरेका थिए। ३५औं मिनेटमा भाल्भर्डेले फ्रेलान मेन्डीको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए।
८३औं मिनेटमा अन्सु फातीको क्रसमा अनमार्क रहेका टोरेसले गोलगरेपछि बार्सिलोनाले खेलमा फर्कने संकेत गरेको थियो । तर, इन्जुरी समयको पहिलो मिनेटमा रियलले गोल थप्यो। रोड्रिगोलाई इरिक गार्सियाले डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा रोड्रिगोले गोल गरेका थिए।











