नेपालमा पनि शहरी क्षेत्रको जनसङ्ख्या वृद्धि
नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ।
काठमाडौं, असोज ३१ : नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ।
जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार, शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले बताए। २०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ प्रतिशत थियो। त्यसवेला ग्रामीण भेगको जनसङ्ख्या ३६.८१ प्रतिशत थियो।
संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भए अनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ। ती देशमा कुल जनसङ्ख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्छन्।
यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसङ्ख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ। सन् २०३० देखि २०३५ भित्र विकसित देशमा शहरी क्षेत्रको जनसङ्ख्या वृद्धिदर ०.४० प्रतिशत पुग्ने पनि जनाइएको छ।
अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोवास दिवसका अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो। संयुक्त राष्ट्र सङ्घीय मानव बसोवास कार्यक्रम (यूएन ह्याविट्याट) को आह्वानमा सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवर्द्धन गर्ने मूल उद्देश्यले विश्वव्यापी रुपमा यो दिवस मनाउन थालिएको हो। राष्ट्र सङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो।
नेपालमा पनि सन् २००१ देखि यो दिवस मनाइन्छ। अक्टोबर महिनाको पहिलो सोमबार बडा दशैँको महाअष्टमी परेकाले आज तेस्रो सोमबार ‘समावेशी शहरबस्तीको आवश्यकताः सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोवास दिवस २०७९ विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको पनि मन्त्रालयले जनाएको छ। (रासस)
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










