पुरुष भलिबलमा एपीएफ अपराजित रहँदै क्वार्टरफाइनलमा
लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको हो। आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल एपीएफले ३–० को सोझो सेटमा जितेको हो।
काठमाडाैं, असाेज ३० : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल एपीएफ अपराजित रहँदै समूह ’सी’ को विजेता रुपमा क्वाटरफाईनलमा प्रवेश गरेको छ।
लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको हो। आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल एपीएफले ३–० को सोझो सेटमा जितेको हो।
पहिलो सेट २५–१३ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१८ ले जितेको थियो। तेस्रो सेट २५–१० ले जित हात पारेर एपीएफले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो। यस समूहबाट क्वाटरफाईनल पुग्ने अर्को टोलीको टुङ्गो भने सोमबार हुने सुदुरपश्चिम प्रदेश र एनआरएनए बीचको खेल पछि लाग्ने छ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा लुम्बिनी प्रदेश समूह ’ए’ को उपबिजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ। लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको हो। आईतबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल लुम्बिनीले ३–० को सोझो सेटमा जितेको हो।
पहिलो सेट २५–१५ ले आफ्नो पक्षमा पारेको लुम्बिनीले दोस्रो सेट २५–२१ ले जितेको थियो। तेस्रो सेट २५–२० ले जित हात पारेर लुम्बिनीले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो। यस समूहबाट समूह बिजेताको रुपमा नेपाल पुलिस क्लब क्वाटरफाईनल पुगिसकेको छ। पुरुष भलिबलको फाइनल भने कात्तिक ३ मा हुनेछ।











