Kathmandu Press

नवौँ राष्ट्रिय खेलकुद : करातेमा गण्डकी र सेनालाई समान तीन–तीन स्वर्ण

नवौँ राष्ट्रिय खेलकुद : करातेमा गण्डकी र सेनालाई समान तीन–तीन स्वर्ण

कास्की, असोज ३० : पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फुल कन्ट्याक्ट करातेमा आयोजक गण्डकी प्रदेश र विभागीय नेपाली सेनाले तीन–तीन स्वर्ण पदक जितेका छन्।

यसैगरी सशस्त्र प्रहरीले दुई स्वर्ण, मधेस प्रदेश, नेपाल प्रहरी र बागमती प्रदेशले समान एक–एक स्वर्ण हात पारेका छन्। पोखराको नयाँबजारस्थित प्रदर्शनी हलमा शनिबार राति सम्पन्न खेलमा गण्डकीले पुरुषफर्तको ३०–४०, ४५–५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०–५५ तौल समूहमा एक स्वर्ण जितेको हो। करातेमा पुुरुषका सात र महिलाका पाँच विधा गरी १२ विधामा प्रतिस्पर्धा गराइएको हो। 

यसैगरी सेनाले खुला तौल समूह पुरुष, महिला र ६०–६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो । खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जिते। गण्डकीका रुपक नेपालीलाई फाइलनमा पराजित गरी उहाँले स्वर्ण हात पारेका हुन् । 

सातौँ र आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने। नेपालीले रजत पदकमा चित्त बुझाए। पुरुषतर्फकै ६०–६५ केजी तौल समूहमा सेनाका सनी सिंहले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण पदक हात पार्नुभयो । भुजेलले रजत पदक जिते । पुरुषतर्फकै ५५–६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल सेनाका विकास गुरुङले रजत पदक जिते। 

पुरुषतर्फकै ५०–५५ केजी तौल समूहमा मधेस प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए। यसैगरी ४५–५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राइलाई पराजित गरी स्वर्ण जिते। बागमतीका राईले रजतमा चित्त बुझाए ।

यसैगरी ४०–४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनिल तामाङले सेनाका राजकुमार यादवलाई पराजित गरी स्वर्ण पदक जितेका छन्। पुरुषतर्फको ३५–४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले सेनाका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जित्दा थिङले रजत पदकमा चित्त बुझाए। 

महिलातर्फको खुला तौल समूहमा सेनाका मञ्जु विकले बागमती प्रदेशका निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन् । यसैगरी ५०–५५ केजी तौल समूहमा गण्डकीका धनी रानामगरले सेनाका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन्। 
 
यसैगरी ४५–५० केजी तौल समूहमा बागमती प्रदेशका नवीना धमालले सशस्त्र प्रहरीका करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदकमा चित्त बुझाइन् । ४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका रीना माझीले नेपाल प्रहरीकी अञ्जना ढुङ्गेललाई पराजित गरी स्वर्ण पदक जितिन्। 

महिलातर्फको ३५–४० तौल केजी समूहको खेल भने स्थगन भएको छ। सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगन भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए। विवादका कारण शनिबार दिउँसो साढे २ घण्टा सबै प्रतिष्पर्धा रोकिएका थिए । प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एनआएनए गरी ११ टिम सहभागी भएका थिए । 

भलिबलमा लिग चरणका खेल जारी

अन्नपूर्ण– नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबलतर्फ लिग चरणका खेल भइरहेका छन् । पुरुष भलिबल पोखरा रङ्गशालामा र महिला भलिबल म्याग्दीमा चलिरहेको छ । पोखरा रङ्गशाला भलिबल कोर्टमा समूह चरणको खेलमा एपिएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । पहिलो खेलमा एपिएफले गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०लाई ३–० को सोझो सेटमा हरायो । एनआरएनएलाई एपिएफले २५–१९, २५–१५ र २५–१३ सेटमा हराएको हो । जितसँगै एपिएफले तीन अङ्क जोड्यो ।

दोस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश नं १ लाई ३–० कै सेटमा पराजित ग¥यो । आर्मीले २५–१२, २५–१९ र २५–२३ ले प्रदेश नं १ लाई हराएर समूह ‘बी’ मा पहिलो जित दर्ता गर्दै तीन अङ्क जोड्यो । तेस्रो खेलमा नेपाल पुलिसले लुम्बिनी प्रदेशलाई हराउँदै शीर्षस्थान कायम राखेको छ । शनिबार लुम्बिनीलाई २५–१२, २५–८ र २५–२१ को सेटमा पराजित गर्दै पुलिसले थप तीन अङ्क जोडेको हो ।
 
आइतबारको पहिलो खेल त्रिभुवन आर्मी र मधेस प्रदेश, दोस्रो खेल एपिएफ र सुदूरपश्चिम, तेस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुने छ । पुरुष भलिबलमा सहभागी ११ टिमलाई चार समूहमा राखेर खेलाइएको छ । हरेक समूहका विजेता र उपविजेता टिम क्वाटरफाइनल चरणमा प्रवेश गर्नेछन् ।

समूह ‘डी’ मा गण्डकी र बागमतीमात्रै रहेकाले सिधैँ क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । शुक्रबार बागमतीलाई हराएर गण्डकी समूह विजेता बनेको थियो । यस्तै म्याग्दी खुलामञ्च खेलमैदानमा भएको महिलातर्फको खेलमा विभागीय टिम त्रिभुवन आर्मी र प्रदेश नं १ ले जित निकालेका छन् । बेनीको खुलामञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश नं १ ले मधेस प्रदेशलाई सोझो तीन सेटमा पराजित गरेका हुन् ।

मनिषा खाणको कप्तानीमा मैदानमा उत्रिएको आर्मीको टोलीले कर्णालीलाई २५–१२, २५–१३ र २५–१२ सोझो सेटमा पराजित गरेको हो । यस्तै विनिता राईको नेतृत्वमा खेलेको प्रदेश नं १ ले मधेसलाई सोझो सेटमा पराजित गरेको हो । मधेसलाई हराउने क्रममा प्रदेश नं १ ले २५–१३, २५–२२ र २५–१५ नतिजा निकालेको हो ।

 लिक कम नक आउट वेष्ट अफ फाइभ सिस्टममा खेलाइएको प्रतियोगितामा छवटा खेल सकिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीले सहभागिता जनाएका छन्।

प्रकाशित मिति: ११:१९ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्