लागूऔषध कारोबारमा तीन भारतीय नागरिकसहित चार पक्राउ
लागूऔषधको कारोबारमा तीन जना भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
भरतपुर, असोज २९ : लागूऔषधको कारोबारमा तीन जना भारतीय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
भरतपुरबाट उनीहरूलाई भारतीय कारसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षीय सुनिल कुमार, १९ वर्षीय विकास कुमार, ५० वर्षीय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका–१९ की ३५ वर्षीया प्रतिमा मण्डल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरूलाई शुक्रबार भरतपुर बसपार्क चोकबाट पक्राउ गरिएको हो।
पक्राउ परेका उनीहरुको साथबाट एक हजार एम्पुल डाइजेपाम, एक हजार एम्पुल व्युप्रिनर्फिन, फेनारगन एक हजार एम्पुल र एक सय ४० मिलीग्राम खैरो हेरोइन फेला परेको उनले बताए।
यससँगै चार वटा मोबाइल, डिएल सात सिएम १५७६ नंको भारतीय कारसमेत बरामद गरिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










