डडेल्धुरामा एमालेले तोड्यो कांग्रेस (बीपी) सँगको तालमेल
नेकपा (एमाले)ले डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) सँग गरेको चुनावी तालमेल तोडेको छ।
डडेल्धुरा, असोज २९ : नेकपा (एमाले)ले डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) सँग गरेको चुनावी तालमेल तोडेको छ।
एमाले डडेल्धुराको बैठकले कांग्रेस (बीपी)सँगको तालमेल भंग गर्ने निर्णय गरेको जनाइएको छ। एमाले जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीले प्रेस विज्ञप्ति जारी गरी कांग्रेस (बीपी)ले स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेपछि यसअघिको सहमति भंग गरेको जनाएको छ।
डडेल्धुरामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार छन्। त्यस्तै, कांग्रेस (बीपी)बाट कर्ण मल्ल उम्मेदवार बनेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएर कांग्रेस बीपीका मल्ललाई सघाउने सहमति गरेका थिए। प्रदेशका दुवै सीटमा एमालेलाई सघाउने सहमति बनेको थियो।
तर, कांग्रेस बीपीले प्रदेश ख मा स्वतन्त्र उम्मेदवारसँग तालेमल गरेको भन्दै एमाले डडेल्धुराले तालमेल भंगको निर्णय गरेको हो। एमालेको तर्फबाट प्रदेश क मा पठानसिंह बोहरा र प्रदेश ख मा गजेन्द्र शाही उम्मेदवार छन्।












