नवौं राष्ट्रिय खेलकुद : पुरुष भलिबलमा पुलिसकाे विजयी सुरुआत
साविक विजेता पुलिसले शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
कास्की, असाेज २७ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागीय टिम पुलिसले विजयी सुरुआत गरेको छ।
साविक विजेता पुलिसले शुक्रबार पोखरा रंगशालास्थित कोर्टमा भएको उद्घाटन खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ मा सहज जित निकाल्यो। लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ।
त्यस्तै शुक्रबार नै बागमती प्रदेशलाइ गण्डकी प्रदेशले ३–१ को सेटमा पराजित गर्यो। पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट १५–२५ ले गुमाएको थियो।
तेस्रो र चौथो सेट क्रमशः २५–१८ र २५–१४ ले जितेको हो। लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा गण्डकीले जितसँगै ३ अंक जोडेको छ। सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ।
समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन्।
प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन्। तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सीधै क्वाटरफाइनल पुगेका छन्। दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने छन्। पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ।











