थापाथली क्षेत्रका अनधिकृत संरचनामा महानगरकाे डाेजर
किरियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवनलगायत संरचनाहरु अनधिकृत भएकाले हटाउन सुरु गरिएको महानगरले जनाएको छ।
काठमाडौं, असोज २८ : काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा सुकुम्बासी बस्तीनजिकै वाग्मती किनारमा बनाइएका अनधिकृत संरचना हटाउन सुरु गरेको छ।
महानगरले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुलसम्मको क्षेत्रमा बनाइएका अनधिकृत संरचना हटाउन सुरु गरेको हो।
सो क्षेत्रमा निर्माण भएको किरियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको पुजारी भवनलगायत संरचनाहरु अनधिकृत भएकाले हटाउन सुरु गरिएको महानगरले जनाएको छ।
महानगरले बिहीबार थापाथलीको सडकमा राख्ने गरिएका ठेलागाडा पनि हटाएको थियो। कुनै विकल्प नदिई ठेलागाडा हटाएको भन्दै महानगरको चर्को विरोध भइरहेको छ।
यसअघि वाग्मती सभ्यताले अनधिकृत संरचना भत्काउन खोजेको थियो। तर असफल भएपछि महानगरलाई अनधिकृत संरचनामा भत्काइदिन आग्रह गरेको थियो।
वाग्मती किनारमा रहेका अनाधिकृत संरचनालाई निरन्तर हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।
महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएर विभिन्न स्थानमा डोजर लगाउँदै आएको छ ।












