नवौं राष्ट्रिय खेलकुद : विवादित बनेको खेल प्रदेश १ माथि एनआरएनएको जित
एनआरएनएले नेपाली राष्ट्रिय टिमका अधिकांश खेलाडी मैदान उतार्ने तयारी गरेपछि प्रदेश १ ले त्यसको विरोध गरेको थियो।
कास्की, असाेज २७ : नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा एनआरएनए विजयी भएको छ। बिहीबार पोखराको लामाचौरस्थित गोस्तेघाट मैदानमा भएको खेलमा एनआरएनएले प्रदेश १ माथि २–०को जित निकाल्यो।
खेलअघि नै विवाद उत्पन्न भएपछि खेल निकै ढिला गरी सुरु भएको थियो । एनआरएनएले नेपाली राष्ट्रिय टिमका अधिकांश खेलाडी मैदान उतार्ने तयारी गरेपछि प्रदेश १ ले त्यसको विरोध गरेको थियो।
एनआरएनएले राष्ट्रिय टिमका विमल घर्तीमगर, विशाल राई, निशान खड्का, अशोक खवास, पुजन उपरकोटी लगायतका खेलाडीलाई मैदान उतारेपछि प्रदेश १ का प्रशिक्षक तथा व्यवस्थापकले त्यसको विरोध गरेका थिए ।
एन्फा उपाध्यक्ष दावा लामाले खेलपछि प्रेटेस्ट गर्न सकिने भनेपछि प्रदेश १ खेल खेल्न राजी भएको थियो।
एनआरएनएको जितमा विमल घर्तीमगर र संजोग राईले गोल गरे । विमलले खेलको आठौं मिनेटमा गोल गर्दै एनआरएनएको खाता खोलेका थिए, त्यसको दुई मिनेटपछि नै संजोगले एनआरएनएको अग्रता दोब्बर बनाए । त्यसपछि गोल नहुृँदा एनआरएनए विजयी भयो।
प्रतियोगिताअन्तर्गत अहिले बागमती र मधेश प्रदेशबीचको खेल जारी छ।











