कांग्रेसले भन्याे- असोज ३१ सम्म बागी उम्मेदवारी निष्क्रिय पारे कारबाही फुकुवा हुन्छ
कांग्रेसले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने बताएको हो।
काठमाडौं, असोज २७ : नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएकाहरुलाई असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय पारे कारबाही फुकुवा गर्ने बताएको छ।
कांग्रेसले आज (बिहीबार) एक विज्ञप्ति जारी गरेर असोज ३१ सम्म उम्मेदवारी निष्क्रिय बनाए कारबाही फुकुवा हुने बताएको हो।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याइ फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ,’ पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले बुधबार मात्रै एक विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको बताएको थियो।












