सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न पाइँदैन : निर्वाचन आयोग
बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएका हुन्।
काठमाडाैं, असाेज २७ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मत सर्वेक्षण गर्न नपाइने जनाएको छ।
बिहीबार निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता कमल भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिता लागू भइसकेकाले सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण गर्न नपाइने जनाएका हुन्।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको सहायक प्रवक्ता भट्टराइले जानकारी दिए।
त्यस्तै निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न समेत नहुने व्यवस्था रहेको उहाले बताए।
आयोगले आचारसंहिताका व्यवस्थाविपरीत कोही कसैले कार्य गरेमा कानुनबमोजिम कारबाही हुने पनि जनाएको छ।











