ओलीलाई भीम रावलको प्रश्न- प्रधानमन्त्री हुँदा आधा समय बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने, मैले किन नपाउने ?
‘झन्डै दुई तिहाईको सरकार हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर क्षेत्र जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदापनि उम्मेदवार हुन नपाउने किन ?’
काठमाडौं, असोज २७ : नेकपा एमालेका नेता भीम रावलले पार्टी नेतृत्वले षड्यन्त्रपूर्ण ढंगले आफूलाई उम्मेदवार नबनाएको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले क्षेत्र, जिल्ला र प्रदेशले एकल सिफारिस गरेर पठाउँदा समेत नेतृत्वले सुनियोजित ढंगले आफूलाई उम्मेदवार नबनाएको बताएका हुन् ।
रावलले पार्टीभित्र आफूले गरेको योगदान, सुदूरपश्चिम र अछाम जिल्लाका जनताहरुको भावनालाई लत्याउँदै योगदान नै नरहेको ब्यक्तिलाई टिकट दिएर अध्यक्ष ओलीले पार्टीको नीति, विधि, सिद्धान्तको खिल्ली उडाएको उनको आरोप छ ।
उनले पार्टीमा नयाँलाई प्राथमिकता दिने भनेर प्रचार गरिएपनि ओलीनिकटका व्यक्तिहरुको हकमा भने त्यो लागू नभएको बताए । उनले विगतको समयमा अध्यक्ष ओली स्वयं दुई तिहाईको प्रधानमन्त्री हुँदा सक्रिय भएर काम गर्न नसकेपनि पुनः उम्मेदवार हुनुमा पनि प्रश्न गरेका छन् ।
‘झन्डै दुई तिहाईको सरकार हुँदा आधाभन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर देश र जनताको हित एवंम् सरोकारको विषयमा निरन्तर संसद र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले, क्षेत्र जिल्ला र प्रदेशबाट सर्वसम्मत रुपमा एकल सिफारिस हुँदापनि उम्मेदवार हुन नपाउने किन ?’, रावलले भने ।











