पार्टीभित्रै बसेर न्याय र स्वाधीनताका लागि लड्ने भीम रावलको घोषणा
नेता रावलले झपट बोहराको एमालेमा कुनैपनि योगदान नभएको र जिल्लाले पनि सिफारिस नगरेका व्यक्तिलाई उम्मेदवार बनाउनुले सिंगो सुदूरपश्चिम प्रदेश, अछाम जिल्लाका जनता, एमाले नेता र कार्यकर्ताको घोर अपमान भएको पनि बताए ।
काठमाडौं, असोज २७ : नेकपा एमालेका नेता भीम रावलले पार्टी नछाड्ने घोषणा गरेका छन् ।
आगामी ४ मंसिरमा हुने संसदीय निर्वाचनमा पार्टीले टिकट नदिएपछि आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्दै रावलले पार्टीभित्रै बसेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरेका हुन् ।
रावलले आगामी निर्वाचनमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने पनि बताएका छन् ।
रावललाई प्रतिनिधि सभा सदस्यका लागि अछाम–१ बाट एकल सिफारिस गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले जिल्ला र प्रदेशको सिफारिसलाई लत्याउँदै उनको स्थानमा झपट बोहरालाई टिकट दिएको थियो ।
रावलले बोहराको एमालेमा कुनैपनि योगदान नभएको र जिल्लाले पनि सिफारिस नगरेका व्यक्तिलाई उम्मेदवार बनाउनुले सिंगो सुदूरपश्चिम प्रदेश, अछाम जिल्लाका जनता, एमाले नेता र कार्यकर्ताको घोर अपमान भएको पनि बताए ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा रावलले अध्यक्षले आफूमाथि प्रतिशोध साँधेको आरोप लगाएका छन् । उनले आफू पार्टीकै काममा रहँदा सम्पर्कविहीन भएको देखि निर्वाचनमा आफूलाई कसरी रोक्न सकिन्छ भनेर नेतृत्व तहले आफूमाथि गम्भीर षड्यन्त्र गरेको आरोप लगाएका छन् ।











