लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो, सलाहको कीर्तिमानी ह्याट्रिक

काठमाडौं, असोज २७ : च्याम्पियन्स लिग फुटबलमा इङ्ग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ। समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई ७–१ गोलले हरायो।
लिभरपुलका मोहम्मद सलाहले कीर्तिमानी ह्याट्रिक पूरा गरे । खेलको १७औँ मिनेटमा स्कट अर्फिल्डले गोल गर्दै रेन्जर्सलाई सुरुआती अग्रता दिलाएका थिए । तर थप गोल गर्न नसकेको रेन्जर्सले ७ गोल खायो । सलाहले ह्याट्रिक पूरा गर्दा रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेज र हार्भे इलिओटले समान एक एक गोल गरे ।
सलाहले ६ मिनेट १२ सेकेन्डको अन्तरमा ह्याट्रिक पूरा गर्दै च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ह्याट्रिक पूरा गर्ने कीर्तिमान बनाएका छन् । जितसँगै लिभरपुल समूह ‘ए’ मा ९ अङ्कसहित दोस्रो स्थानमा छ ।
यो समूहको अर्को खलमा आयाक्सलाई ४–२ गोलले हराएर नेपोली प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपोली ४ खेलमा १२ अङ्कसहित शीर्ष र पराजित आयाक्स ३ अङ्ककासाथ तेस्रो स्थानमा छ।











