खेलकुद मन्त्री र राखेपका सदस्य सचिवलाई बर्खास्त गर्न तरुण दलकाे माग
काठमाडौं, मंसिर २५ : कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भ्रष्टाचार भएको दाबी गर्दै राष्ट्रिय खेल....

काठमाडौं, मंसिर २५ : कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भ्रष्टाचार भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बर्खास्त गर्न माग गरेको छ।
साग खेलकुद सम्पन्न भएको भोलिपल्ट बुधबार बिहान दलका अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ति जारी गर्दै साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा–सुविधामा भ्रष्टचार भएको दाबी गरेका हुन्। उनले विज्ञप्तिमा सदस्य सचिव सिलवाल र खेलकुदमन्त्री विश्वकर्मालाई तत्काल बर्खास्त गर्न पनि माग गरेका छन् ।
तरुण दलले बिना टेण्डर साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी ई–सेवालाई दिएर अधिकारीहरुले बदमासी गरेको । उक्त कम्पनीले ठगी धन्दा सञ्चालन गरेको पनि दाबी गरेका छन्। ‘विना प्रतिस्पर्धा सागको टिकट बेचेर इसेवाले ठगी धन्दा गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त कम्पनीमाथि छानबिन प्रकिृया सुरु गरी कारबाहीको दायरामा ल्याउनु माग गर्दछु।’
तरुण दलले साग खेलकुदको रकमबाट मन्त्रीहरुलाई दौरा सुरुवाल खरीद गर्नुले देशकै बदनाम भएको पनि उल्लेख गरेको छ । ‘खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजी साईकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकता भन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको दलको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ।
तरुण दलले खेलाडीहरुलाई आवस्यक सामाग्री उपलव्ध गराउन नसक्नु मन्त्री र सदस्य सचिवको ठूो बदमासी भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ। ‘५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जित्न सफल नेपाली होनाहार खेलाडीहरुलाई शुटिङ, साईक्लिङ, स्वीमिङलगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको छ, विज्ञप्तिमा भनिएको छ।
तरुण दलले देशको ईज्जत बचाउन महत्वपूर्ण भूमिका खेलेका पदक जित्ने खेलाडीहरुलाई धन्यबाद दिँदै स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्नेलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न सरकार र खेलकुद परिषदसँग माग गरेको छ।












