नेता भीम रावलले भोलि पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने
उनले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना जारी गरेर पत्रकार सम्मेलनबारे जानकारी गराएका हुन्।
काठमााडाैं, असाेज २६ : एमाले नेता भीम रावलले भोलि पत्रकार सम्मेलन गरी अछामबाट एकल सिफारिस हुँदा पनि पार्टीले उम्मेदवार हुनबाट वञ्चित गराएको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।
त्यसका लागि उनले भोलि (बिहीबार) काठमाडौंको थापाथलीस्थित कार्की बैंक्वेटमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। उनले आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमार्फत एक सूचना जारी गरेर पत्रकार सम्मेलनबारे जानकारी गराएका हुन्।
‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गका नेकपा (एमाले) का वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतिले एक मात्र उम्मेदवारको रुपमा सिफारिस भएको तर केन्द्रबाट हटाई सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिकाटिप्पणिका सन्दर्भमा निम्नलिखित मिति, स्थान र समयमा हुने पत्रकार सम्मेलनमा उपस्थितिको लागि हार्दिक अनुरोध छ,’ सूचनामा उल्लेख छ।
अछामबाट उनलाई प्रतिनिधिसभा सदस्य बनाउन एकल सिफारिस केन्द्रमा भए पनि एमालेले उनलाई टिकट नदिएपछि अछाममा एमाले नेता कार्यकर्ताहरूले राजीनामा दिएका थिए। रावल स्वयमले भने यो विषयमा उपयुक्त समयमा बोल्ने बताउँदै आएका थिए।












