होटल क्राउन प्लाजामा जलेकी महिलाको मृत्यु, दुईजना पक्राउ
पक्राउ पर्नेमा होटलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३७ वर्षीय पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ का २६ वर्षीय केशव रिजाल छन्।
काठमाडौं, असोज २६ : काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा एक महिलाको जलेर मृत्यु भएको घटनालाई लिएर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा होटलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३७ वर्षीय पवनकुमार श्रेष्ठ र महिलासँगै होटलमा बस्न गएका बाराको जितपुर सिमरा उपमहानगरपालिका–१४ का २६ वर्षीय केशव रिजाल छन्।
होटलको कोठामा जलेकी २३ वर्षीया महिलाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। सोमबार बिहान महिला जलेर गम्भीर घाइते भए पनि होटलले प्रहरीलाई खबर गरेको थिएन। प्रहरीले अस्पतालबाट सो घटनाबारे जानकारी पाएको थियो। त्यसकारण घटनालाई शंकास्पद रूपमा हेरिएको जनाइएको छ।
प्रहरीका अनुसार रिजालले ती युवतीलाई सुरुमा वीर अस्पताल पुर्याएका थिए। त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो। रिजाल र ती युवती प्रेमीप्रेमिका भएको प्रहरीको अनुमान छ।
पक्राउ परेका दुवैलाई पाँच दिन म्याद थप गरिएको र घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ।