वाग्मती प्रदेशमा डेंगु सङ्क्रमितको सङ्ख्या २७ हजार बढी
सो रोगको सङ्क्रमणबाट वाग्मती प्रदेशमा २१ जनाको मृत्यु भएको छ।
हेटाैंडा, असाेज २६ : वाग्मती प्रदेशमा लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
साथै सो रोगको सङ्क्रमणबाट वाग्मती प्रदेशमा २१ जनाको मृत्यु भएको छ।
वाग्मती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ। काठमाडौँमा ११ हजार चार सय ६७ र रसुवामा सात जना सो रोगबाट सङ्क्रमित भएको जनाइएको छ।
निर्देशनालयका अनुसार ललितपुरमा ८ हजार १५, मकवानपुरमा ३ हजार ६ सय चार, भक्तपुरमा २ हजार १ सय आठ, चितवनमा १ हजार १ सय ६९, धादिङमा ६ सय ३८, काभ्रेमा २ सय १५, नुवाकोटमा १ सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा डेङ्गु रोगको सङ्क्रमण पृष्टि भएको बताइएको छ।
त्यस्तै प्रदेशमा हालसम्म सो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयका विवरणमा रहेको छ। काठमाडौँमा सात, सिन्धुली र रामेछाप तीन/तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई/दुई, भक्तपुर र धादिङ्मा एक/एकजनाको मृत्यु भएको छ।




-1786083934.jpg)






