Kathmandu Press

हातमा बोकेको सामानबाट दैनिक खर्चको जोहो

उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइले हातमा बोकेर गरिने व्यापार बन्द गर्न परिपत्र गरेपछि उनीहरु हातमुख जोर्न समस्यामा परेका छन्।
हातमा बोकेको सामानबाट दैनिक खर्चको जोहो

डुम्रे, असोज २६ : राजमार्गमा गुड्ने बसका यात्रुलाई केरा बेचेरै सुकुमाया कुमालको घरखर्च चलेको छ। पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रे बजारमा गुड्ने बसका यात्रुलाई दिनहुँ केरा बिक्री गरेर गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५९ वर्षीया कुमालको जीविकोपार्जन चलेको छ। 

उनी सडकमा गुडिरहेका बसको अघिपछि हातमा केरा बोकेर दौडन थालेको पनि झन्डै ४० वर्ष बित्यो।  १९ वर्षको उमेरमा विवाह भएपछि उनले केरा बोकेर बसको पछि दौडिदै सामान बेच्न सुरु गरेकी हुन्। 

हरेक साँझ उनी दिनभरिको बिक्रीबाट भएको आम्दानीको हिसाब राख्नुहुन्छ। भोलिपल्ट सबेरै बेच्नका लागि डुम्रे बजारमा पुग्न हतार हुन्छ। 'सबेरै उठेर डुम्रे बजार पुग्न सके बढी बिक्री गर्न सकिने आश हुन्छ। बढी व्यापार गर्न सके दैनिक खर्च बढी जुटाउन सक्छु भन्ने आशले डुम्रे बजार आउन हतार हुन्छ', सुकुमायाले भनिन्। पालुङटारमा उत्पादन भएको केरा डुम्रे बजारमा ल्याएर बिक्री गर्ने गरेको उनको भनाइ छ।

Hardik ivf

केरा बेचेरै उनले छोराछोरी हुर्काइन्। छोराछोरी हुर्किसके पनि यसरी सामान बेच्न भने उनले छोडेकी छैनन्। 'अरू गरी खाने स्रोत केही छैन। यो उमेरमा पनि केरा बोकेर नै गुजारा टार्न खर्च जोहो गर्छु। हातखुट्टा चल्दा र सक्दासम्म यसरी नै खर्च जुटाएर गर्जो टार्छु,' सुकुमायाले भनिन्, 'माग्नु भएन चोर्नु भएन गरेर खान कसैले पनि रोक्दैन।' 

उनले भनिन्, 'बाहिरको होइन। यही उत्पादन भएको प्राङ्गारिक केराको हाता ल्याएर बसका यात्रुलाई बिक्री गर्छौं।' सोही ठाउँकी ५० वर्षीया देवीमाया कुमाल, ४५ वर्षीया निर्मला कुमाल पनि डुम्रे बजारमा केराको हाता बोकेर वर्षौंदेखि बसको अघिपछि दौडिदै दैनिक खर्च जोहो गर्छन्। 

दैनिक खर्चको जोहोका निम्ति सोही ठाउँकी २० वर्षीया आरती कुमाल पनि यसै पेसालाई अङ्गाल्दै आएकी छन्। दुई वर्षीय छोरालाई घरमा छोडेर खर्चको जोहोका लागि यस पेसामा आबद्ध भएको उनी बताउँछिन्। सासूलगायत गाउँका आफन्ती पनि यसै पेसा गरी घर खर्च चलाउँदै आएकाले आफू यस पेसामा जोडिएको उनी सुनाउँछिन्। 

रु. ५ सयदेखि सात सयसम्म दैनिक केरा बिक्री गर्ने गरेको उनीहरुको भनाइ छ।  एक हाता केरा रु ५० दरले बिक्री गर्ने गरेको आरती बताउनुहुन्छ। 'ग्राहकले रु ३० मा माग्छन्। कम मूल्यमै बेचिन्छ कहिलेकहीँ। त्यतिबेला हामीलाई घाटा लाग्छ', उनले भनिन्, 'दैनिक रु एक सयदेखि दुई सयसम्म बचाउन सकिन्छ।' 

घरबाट डुम्रे बजारसम्म दैनिक आउनेजाने भाडा रु. दुई सय ८० र पिउने पानी, खाजा गरी रु दुई सय खर्च हुने गरेको उनीहरुको भनाइ छ। उनीहरुले व्यापार गरेबापत दैनिक रु. ३० उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइलाई सरसफाइ खर्च भनेर दस्तुर तिर्नुपर्छ। यस पेसामा अधिकांश भूमिहीन सुकुम्वासी संलग्न रहेको छ। 

व्यवसाय बन्द गर्ने त्रास

उद्योग वाणिज्य सङ्घ डुम्रे बजार एकाइले हातमा बोकेर गरिने व्यापार बन्द गर्न परिपत्र गरेपछि उनीहरु हातमुख जोर्न समस्यामा परेका छन्।  ठेलामा व्यापार गर्न दिने परिपत्र प्राप्त भएको उनीहरुको भनाइ छ।

सबै हाते व्यापारीले ठेला लिन सक्ने अवस्थामा छैन। 'हामीले यो काम गर्न नपाए हाम्रो चुल्होमा आगो बल्दैन। ठेला किन्न सक्ने अवस्थामा हामी छैनौँ। हामीलाई यसरी नभए पनि व्यापार गर्न दिनुपर्छ भन्ने हाम्रो माग हो,' पुरानो बिक्रेता देवीमाया कुमाल भन्छन्। डुम्रे बजारमा केरा, पानीलगायत अन्य सामग्री हातमा बोकेर सामग्री बिक्रेता करिब ६० जना छन्।

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्