आगामी निर्वाचनमा भाग लिन दर्ता भएका ८६ दलमध्ये ५७ मात्र प्रत्यक्षमा
प्रदेश १ मा ३०, मधेसमा ३७, वाग्मतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।
काठमाडाैं, असाेज २६ : आगामी मङ्सिर ४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।
प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले जनाएको छ। प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको सङ्ख्या फरक छ। प्रदेश १ मा ३०, मधेसमा ३७, वाग्मतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्।
आयोगमा दर्ता भएका दलको सङ्ख्या भने एक सय १६ रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। दर्ता भएका सबै दलले आगामी निर्वाचनमा भाग नलिने पनि उनले बताए। २०७४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ५५ दलले भाग लिएका थिए।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आगामी मङ्सिर ३ गते १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउनेछन्। त्यसका लागि मतदातासँग परिचयपत्र हुनु आवश्यक छ।
आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष पूरा हुनेसमेत एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जनाले मतदान गर्न पाउने आयोगले जनाएको छ। जसमा ९१ लाख ४० हजार आठ सय ६ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य मतदाता छन्।




-1786083934.jpg)






