Kathmandu Press

जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव

आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सिञ्जा र हिमा गाउँपालिकाका अध्यक्षद्वय पूर्णप्रसाद धिताल र लक्ष्मण शाहीले बस्ती स्थानान्तरणको प्रस्ताव गरेका हुन्।
जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव

जुम्ला, असाेज २६ : विपद्को उच्च जोखिममा रहेको भन्दै जुम्लाका आठ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रस्ताव राखिएको छ।

आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सिञ्जा र हिमा गाउँपालिकाका अध्यक्षद्वय पूर्णप्रसाद धिताल र लक्ष्मण शाहीले बस्ती स्थानान्तरणको प्रस्ताव गरेका हुन्।

सिञ्जा गाउँपालिकाका अध्यक्ष धितालले जोडु, तल्लो भाडगाउँ, चुलेलगाउँ, घोडेङ्गा बस्ती बेलैमा नसारे ठूलो क्षति बेहोर्नुपर्ने बताए। त्यस्तै, हिमा गाउँपालिकाका अध्यक्ष शाहीले मोफ्ला र पातरखोला बस्तीलाई जतिसक्दो छिटो सार्नुपर्ने अवस्था आएकाले जिल्ला विपद् व्यवस्थापन समितिले यसको पहलकदमी लिन अनुरोध गरे।

त्यस्तै तिला गाउँपालिकाको घोडेसिन गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ। उक्त बस्तीलाई समयमै स्थानान्तरण नगरे धनजनको क्षति हुने गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए।

कनकासुन्दरी गाउँपालिकाका बारकोटे गाउँलगायतका केही बस्ती उच्च जोखिममा रहेको सरोकारवालाले जनाएका छन्। 

जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद्बाट प्रभावित यहाँका करिब तीन सय घरपरिवारलाई राहत दिने तयारी गरेको छ। सो क्षेत्रमा ८५ घर पूर्ण क्षतिग्रस्त र दुई सय घरमा आंशिक क्षति पुगेको जनाइएको छ। क्षतिको एकीन विवरण भने पालिकामार्फत लिइने जनाइएको छ।

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, असोज २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्