नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा एपिएफ र सुदुरश्चिम विजयी
मंगलबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ४ विकेटले हराउँदा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो ।
कास्की, असाेज २५ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ क्लब र सुदुरपश्चिम प्रदेश विजयी भएका छन् ।
पोखरामा मंगलबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ४ विकेटले हरायो। बागमतीले दिएको ९० रनको लक्ष्य एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।
एपीएफको जितमा रोमा थापाले २२ तथा ममता चौधरीले १७ रन बनाइन् भने नेरी थापाले अविजित १६, कप्तान सिताराना मगरले १६ रन बनाइन्। बागमतीका लागि सुमन खतिवडा र सोनी पाख्रिनले २ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । जितसँगै एपीएफ २ अंक जोड्दै समूह ’ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै पोखरामा मंगलबार भएको खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १०.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।
सुदुपश्चिमको जितमा रितु कनौजियाले २२ तथा स्नेहा महराले अविजित २१ रन बनाइन् ।
गण्डकीका लागि कप्तान शृष्टि जैसीले अविजित २८ रन बनाइन् । गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । जितसँगै सुदुरपश्चिम २ अंक जोड्दै समूह ’ए’ को दोस्रो स्थानमा उक्लिएको छ ।
राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा ९ टिम सहभागी छन्।











