सत्तारुढ गठबन्धनलाई दुईतिहाई बहुमत दिन गृहमन्त्रीको आग्रह

काठमाडाैं, असाेज २५ : गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आसन्न संघीय निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहामुत दिन आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित एनआरएनएको वार्षिक साधारणसभा तथा एनआरउन ग्लोबल कन्क्लेभमा बोल्दै गृहमन्त्री खाणले नागरिकताविहीन नेपाली नागरिकलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक भएकाले दुई तिहाई आगामी चुनावमा बहुमत दिन आग्रह गरे।
गृहमन्त्री खाणले राष्ट्रपति विद्या भण्डारीले संविधानविपरीत गएर नागरिकता विधेयक प्रमाणीकरण नगरेका कारण गैरआवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे ।
राष्ट्रपतिको सो गैरसंवैधानिक कामको विरोध गरेर सो नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाब दिन पनि गैरआवासीय नेपालीहरुलाई उनले अनुरोध गरे ।
नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपालीहरुलाई आह्वान गर्दै गृहमन्त्री खाणले गैरआवासीय नेपालीहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने बताए। उनले विदेशमा रहेका हरेक नेपालीहरुको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको बताए।











