सीप, पुँजी र प्रविधि नेपालको विकासमा लगाउन एनआरएनलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं, असोज २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपाली (एनआरएन)लाई आह्वान गरेका छन् ।
एनआरएन डे २०२२ का अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशमा रहेका नेपालीलाई लगानी गर्न सरकारले प्रयाप्त वातावरण बनाएको भन्दै आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन आह्वान गरेका हुन् । बिभिन्न माध्यमबाट लगानी गर्नका लागि पनि सरकारले सहजीकरण गर्ने प्रधानमन्त्री देउवाको भनाई छ ।
त्यस्तै उनले गैर आवासीय नेपालीले उठाउदै आएको नागरिकता सम्न्धी सवाललाई निकट भविष्यमा आवश्यक कानून बनाएर सम्बोधन गर्ने प्रतिवद्धता जनाए। उनले नेपालमा उत्पादित वस्तुलाई प्राथमिकता दिएर विदेशमा उपयोगको वातावरण बनाउन सके स्वदेशी उत्पादनको निकासी र प्रवद्र्धनमा सहयोग पुग्ने धारणा राखे ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले आफ्ना देशका नागरिकका जीउ धनको रक्षाका साथै लगानीको संरक्षण गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए । विदेशमा रहेका नेपालीहरुले पनि स्वदेशमा लगानी गरे सरकारले लगानीलाई सुरक्षित गर्न पछि नहट्ने उनको भनाई छ । उनले गैर आवासीय नेपालीलाई नागरिकता दिनका लागि सरकारले आवश्यक व्यवस्था गर्न खोजेपनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसक्दा कानून निर्माण प्रक्रिया अघि बढ्न नसकेको धारणा राखे।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा धेरै नै लगानीको उपयुक्त वातावरण बनेकाले नेपालमा लगानी बढाउन लगाउन गैर आवासीय नेपालीलाई आग्रह गरे। ं











