Kathmandu Press

आज प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली प्रकाशन

आज प्रत्यक्षतर्फका उम्मेदवारहरुको नामावली प्रकाशन

काठमाडौं, असोज २५ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

यही असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी कार्यक्रम तोकिएको छ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते दर्ता भएको मनोनयनपत्रको सूची सोही दिन प्रकाशन भइसकेको छ। असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने र असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको थियो।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रकाशित भएको बन्दसूचीको सूचनामा असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: १०:१८ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्