नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु
काठमाडौं, मंसिर २५ : काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ।
<....
काठमाडौं, मंसिर २५ : काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ।
सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो।
सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरिएको सडक विभाग, विकास समन्वय कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार कम्पनीले झण्डै २० प्राविधिक जनशक्ति जापानबाट ल्याइसकेको छ भने थप ल्याउने क्रममा छ। सो आयोजनामा नेपाली र विदेशी दुवै जनशक्ति प्रयोग गर्ने कम्पनीको योजना रहेको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेसँगै यसको निर्माण शुरु भएको हो। कम्पनीले गरिरहेको तयारीका कामसमेत गरी ४२ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने विभागले जनाएको छ। जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋणमा सुरुङमार्गको निर्माण अघि बढेको छ।
सो परियोजनाअन्तर्गत नै दुई सुरुङ र दुई ‘फ्लाई ओभर’ निर्माण हुँदैछ। आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर सुरुङको निर्माण हुनेछ। दुई ‘फ्लाई ओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ।
सुरुङमार्गकै मुखमा र सतुङ्गलमा ‘फ्लाई ओभर’ बनाउन लागिएको छ। सडक पूर्वाधारमा निर्माण हुन लागेको ‘फ्लाई ओभर’ पनि नेपालकै पहिलो हो। रासस











