राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
६ प्रदेश र ३ विभागीय समूहको मुख्यालयमा प्रदर्शनग गरेपछि राष्ट्रिय खेलकुदको ट्रफी आयोजना स्थल गण्डकी ल्याइएको थियो।
कास्की, असाेज २४ : नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गरिएको छ। सोमबार पोखरामा एक कार्यक्रमबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सार्वजनिक गरे।
६ प्रदेश र ३ विभागीय समूहको मुख्यालयमा प्रदर्शनग गरेपछि राष्ट्रिय खेलकुदको ट्रफी आयोजना स्थल गण्डकी ल्याइएको थियो। यसै पटकबाट राष्ट्रिय खेलकुद परिषद्ले विजेतालाई ट्रफी दिन लागेको हो।
ट्रफी सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशले ट्रफी प्रदर्शन गर्न पाउनु गौरवको कुरा भएको बताए । उनले ट्रफी प्रदर्शनमात्रै नभएर गण्डकी त्यसको हकदारसमेत रहेको दाबी पनि गरे ।
मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरेसँगै पोखरा नगर परिक्रमा गरिएको थियो । पोखरा लेकसाइडस्थित तालबाराही चोकमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले समापन गरेका थिए ।
ट्रफी सार्वजनिक कार्यक्रममा ‘ट्रफी टुर’ कार्यक्रम संयोजक एवं ओलम्पियन दीपक विष्ट, साग पदकधारी एवं कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाही र विश्व अल्ट्रा धाविका मिरा राई सहभागी थिए ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा औपचारिक रुपमा असोज २८ गतेदेखि प्रतियोगिता सुरु हुने छ।











