सन्दीपका वकिलको दाबी– पीडित भनिएकी किशाेरी नाबालिग होइनन्
‘प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गर्नुभएको छ । जाहेरवालाले आफू १९ वर्षको भएँ भनेर इजलास समक्ष भनेकी छन्।’
काठमाडौं, असोज २४ : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । म्याद थपका लागि सन्दीपलाई प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
म्याद थपेलगत्तै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन्। ‘प्रहरी हिरासतमा रहेका लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गर्नुभएको छ,’ घिमिरेले भने, ‘जाहेरवालाले आफू १९ वर्षको भएँ भनेर इजलास समक्ष भनेकी छन्।’
जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको सन्दीपले प्रहरी सक्षम बताएको घिमिरेले बताए । अभियोग पुष्टी नहुँदै आफ्नो गोपनीयता भंग भएको भन्दै त्यसको कानुनी उपचारबारे सन्दीपले चासो राखेको घिमिरेले बताए। त्यसक्रममा न्यायाधीशले मुद्दाको सुनुवाइका क्रममा यो विषय उठाउन सक्ने जवाफ दिएको उनले बताए।
त्यस्तै अर्का अभिवक्ता सुधा रिजालले सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन्। उनले भनिन्, ‘जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको छ । अहिलेको जन्मदर्तामा जाहेरवाला नाबालिग नरहेकाले सन्दीपलाई फसाउन खोज्नेले जाहेरवालालाई परिचालन गरेको आशंका छ।’
गत भदौ २१ गते एक किशोरीले सन्दीपले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। क्रिकेट खेल्न विदेशमै रहेका सन्दीप गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।









