कञ्चनपुरमा पूर्व मन्त्रीत्रयको उम्मेदवारी

काठमाडौं, असोज २४ : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा तीन जना पूर्वमन्त्रीहरूले मनोनयन दर्ता गराएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र नं १ मा पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री बीना मगरले मनोनयन दर्ता गराएकी छन्। यसअघिको निर्वाचनमा भारी मतले विजयी भएकी उनी यसपटक अघिल्लो जितलाई निरन्तरता दिने दाउमा छिन्।
विसं २०७४ को निर्वाचनको प्रतिस्पर्धी दल नेपाली कांग्रेस अहिले उनको साथमा छ । सत्ता गठबन्धनले निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क) मा कांग्रेसका बन्धु राना र (ख) मा पनि कांग्रेसकै दिवानसिंह विष्टलाई उम्मेदवार बनाएको छ । उक्त क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तारा लामा तामाङले उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा मगरलाई जिताउन सक्रिय लामा यसपटक भने उनका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
एमालेले प्रदेशतर्फ क्षेत्र नं १ को (क) मा वीरबहादुर थापा र (ख) मा पल्लभराज भट्टलाई प्रदेशसभाको उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाको एक सिटका लागि पूर्वमन्त्री मगरसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउद चुनावी मैदानमा अघि बढेका छन् । विसं २०७४ को निर्वाचनमा साउदलाई पराजित गरेका एमाले नेता नरबहादुर धामीसित साउदको दोस्रोपटक चुनावी भीडन्त हुँदैछ । धामी जितलाई निरन्तरता दिने रणनीतिमा छन् भने साउद हारको बदला लिने पक्षमा यसपटक देखिएका छन्।
क्षेत्र नं २ को प्रतिनिधिसभाको एक सिटमा १० जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सत्ता गठबन्धनले क्षेत्र नं २ को प्रदेशसभा (क) मा माओवादी केन्द्रका नेता ओमविक्रम भाट र (ख) मा कांग्रेस नेता बहादुरसिंह थापालाई अघि सारेको छ ।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पूर्वमन्त्री रमेश लेखक र नेकपा एमालेका नेत्री निरुदेवी पालबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लोपटक एमालेका नेता डा दीपकप्रकाश भट्टसित थोरै मतान्तरले पराजित नेता लेखक यसपटक सत्ता गठबन्धन दलका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । यता समानुपातिकबाट सांसद बनेकी एमाले नेत्री पाललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ चुनावी तालमेल गरेको छ।
सत्ता गठबन्धनले यहाँको प्रदेश निर्वाचन क्षेत्र नं (क) मा माओवादी केन्द्रका नेता टिकेन्द्रप्रसाद भट्ट र (ख)मा कांग्रेस नेता बेलबहादुर रनालाई उम्मेदवार बनाएको छ । त्यस्तै नेकपा एमाले र राप्रपाले प्रदेश (क) मा राप्रपाका नेता धर्मराज जोशी र (ख) मा एमालेका नेता सुरेन्द्र विष्टलाई उम्मेदवार बनाएको छ।
निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि १३ जनाले उम्मेदवारी दिएका छन् । जिल्लामा प्रतिनिधिसभाका तीन सिटमा आइतबार ३१ जना र प्रदेशसभाका छवटा सिटका लागि ५५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।









