सन्दीपलाई ७ दिनसम्म हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, असोज २४ : जबरजस्ती करणीको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
सोमबार काठमाडौं जिल्ला अदालतले सन्दीपमाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको हो । उनी असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । तर दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले सोमबार मात्रै उनलाई अदालतमा उपस्थित गराइएको हो ।
सन्दीपमाथि नाबालिकामाथि बलात्कार गरेको आरोप छ । पीडित नाबालिगले गत भदौ २१ गते सन्दीपविरुद्ध गौशला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् । आफूविरुद्ध बलात्कारको जाहेरी दर्ता हुँदै गर्दा सन्दीप भने क्यारेबियन लिग खेल्दै थिए । उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो ।
उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन .(इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलले नोटिस जारी गरेलगत्तै उनी काठमाडौं फर्किएका थिए।









