सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, असोज २४ : संस्कृतिविद एवं वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको किष्ट मेडिकल कलेजमा भर्ना भएका जोशीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको अस्पतालले जानकारी दिएको छ। इमरजेन्सी वार्डमा उपचार गरिँदै आएको जोशीलाई अहिले आइसियूमा राखेर उपचार थालिएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो। किष्ट मेडिकल कलेजका निर्देशक एवम् प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीलाई डेंगु संक्रमणले निकै गलाएको र पछिल्लो तीनचार दिनदेखि खानामा पटक्कै रुची नभएको तथा बोल्न पनि राम्रोसँग नसक्ने अवस्थामा रहेका छन् ।
अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा उनमा युरिन इन्फेक्सन र छातीमा निमोनिया पनि देखिएको उल्लेख छ।किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीको निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।









