संखुवासभामा प्रतिनिधिसभामा १२ जनाको उम्मेदवारी
प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा दुई स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको हो।
संखुवासभा, असोज २४ : संखुवासभामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभा सदस्यका लागि १२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभा सदस्यका लागि एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा दुई स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको हो।
प्रतिनिधिसभाका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका दीपक खड्काले उम्मेदवारी दर्ता गराउँदा एमालेका राजेन्द्रप्रसाद गौतम पनि उम्मेदवार बनेका छन् । उनी अघिल्लो पटक पनि खड्कालाई हराउँदै विजयी भएका थिए।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तनारायण श्रेष्ठ, मङ्गोल नेशनल पार्टीबाट देवेन्द्रकुमार घले र राष्ट्रिय जनमुक्ति पार्टीबाट कृष्णकुमार राईले पनि उम्मेदवारी गराएका छन्।
यस्तै, राप्रपा नेपालबाट टीकाराम शाही, जनता समाजवादी पार्टीबाट दीपककुमार राई, राप्रपाबाट भोलामान कार्की, नेशनलिष्ट पिपल्स पार्टीबाट विनोद घिमिरे र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बू पनि उम्मेदवार छन्। स्वतन्त्रतर्फ प्रवीन कार्की र तेन्जि भोटियाको उम्मेदवारी परेको छ।
प्रदेश सभा (क) मा एक स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा माओवादी केन्द्रका राजेन्द्र कार्की, एमालेबाट भविश्वर गुरुङ, राप्रपा नेपालबाट घामसिंह राई र जसपाबाट सीताराम तिम्सिनाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै, राप्रपाका रमोद श्रेष्ठ र नेशनलिष्ट पिपल्स पार्टीका मिनेशकुमार श्रेष्ठ तथा स्वतन्त्रमा वीरेन्द्रकुमार राई पनि यही क्षेत्रमा उम्मेदावर छन्।
प्रदेशसभा (ख) तर्फ स्वतन्त्रसहित १० जनाको उम्मेदवार छन्। गठबन्धनबाट एकीकृत समाजवादीका सरिता थापा उम्मेदवार बन्दा एमालेको तर्फबाट बिदुरकुमार लिङ्थेप पनि उम्मेदवार छन्।
यस्तै, मङ्गोल नेशनल पार्टीबाट माया गुरुङ र राप्रपा नेपालबाट पदमबहादुर जोशी, जसपाबाट पूर्ण शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ङिमारिञ्जी शेर्पा र राप्रपाबाट गोपालप्रसाद दाहालले उम्मेदावरी दर्ता गराएका छन्। यो क्षेत्रमा मानबहादुर कार्की र प्रेमबहादुर लिम्बू स्वतन्त्र उम्मेदवार छन्।









