निरन्तरको वर्षाले बाँके जलमग्न

बाँके, असोज २१ : केहीदिन यता भइरहेको निरन्तरको वर्षाका कारण बाँकेका अधिकांश स्थानीय तह डुवानमा परेका छन्।
डुबान र बाढीका करिब ५ सय परिवारका ३ हजार ५ सय भन्दा बढी स्थानीय विस्थापित भएका छन्।
डुबानबाट सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेका छन् । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३ सय घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ।
त्यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरि र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१८ र २० का ३ सयभन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका छन ।
बाढीले नरैनापुरका २ सय घर भत्केका छन् । त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साह बताए ।
बाढी र डुबानबाट पीडित भएकालाई पुनःस्थापना र राहतका लागि विपद व्यवस्थापन समितिसँग समन्वय गरेर स्थानिय सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ।









